
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीबजारमा उल्लेख्य सुधार हुनु राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको सकारात्मक संकेत भएको बताएका छन् ।
बिहीवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सवाल-जवाफ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पुँजी बजारको सुधार र निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिनु सकारात्मक पक्ष भएको बताए । उनले जनतामा रहेको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएको छोटो समयमा नै केही परिणाम देखिन थालेको दाबी गरे । उनले गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको बताए । घरजग्गा कारोबार समेत क्रमशः वृद्धि हुँदै गएको भन्दै उनले सरकारले जनतामा निराशा होइन आशा जगाउँदै जाने बताए ।
जनतामा रहेको निरासालाई आशामा बदल्ने प्रयासमा लागेका छौं । यस अनुसारका परिणाम पनि छोटो अवधिमा देखापर्न थालेका छन्, उनले भने, गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको छ । घरजग्गा कारोबार क्रमश वृद्धि हुँदै गएको छ । पुँजीबजारमा उल्लेख्य सुधार आएको छ । निजी क्षेत्रमा लगानी गर्ने मनोवल सहित उत्साह देखिएको छ । राष्ट्रका घोषित उद्देश्य पूरा गर्न सरकारले लिएको नीतिको यो सकारात्मक संकेत हो । यस्ता कुराहरुले जनतामा निरासा होइन आशा जगाउँदै जानेछ । भ्रष्टाचारमा सरकारले लिएको शुन्य सहनशिलताको नीति मौखिक प्रतिवद्धता वा देखावटी होइन । कुनै एस्क्युज खोज्दैन काम गर्छ । भ्रष्टाचारको विषय हल्लाको विषय मात्रै बन्नुहुँदैन । कानूनी अनुसन्धान र नतिजामुखी हुनुपर्दछ । भ्रष्टाचार नियन्त्रणमा सरकारले लिएको शुन्य सहनशिलताको नीति देखावटी नभएको उनको जिकिर छ ।