काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् । पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले पार्टीभित्रका शङ्का, उपशङ्का, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा छलफल भएको बताए ।
“स्थायी समिति बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राख्नुभएको मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए”, अध्यक्ष दाहालले भने,“ पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यससम्बन्धमा स्वयम् उहाँले नै स्पष्ट पार्नुभएको छ, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशङ्का छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।”
स्थायी समितिको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको अध्यक्ष दाहालले बताए । “शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ,”– उनले भने ।
अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरे । “पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोड दिन खोजिएकोे छ । भ्रष्टाचारीहरुलाई समात्न खोज्दा खोज्दै हामीलाई सरकारबाट हटाइयो,” उनले भने ।