
विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२४’को आवेदन खुला भएको छ । राजधानीमा यसैसाता आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला भएको जानकारी दिइयो ।
आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले कात्तिक १० गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने जानकारी दिए ।
भदौ ८ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा पहिलो चरण्को अडिसन गरिने झाले जानकारी गराए । यसवर्ष पनि विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने जानकारी उनले गराए ।
सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ । ‘यसपटक परिमार्जित र फरक किसिमले कार्यक्रम गर्ने छौँ, जुन महिला सशक्तिकरणका लागि उपलब्धिमुलक कार्यक्रम सावित हुनेछ’ उनले भने ।
मिसेस नेपाल वर्ल्ड २०२३ तथा मिसेस वर्ल्डकी ह्युम्यानेटेरियन अवार्ड २०२३ विजेता पृथ्वीया थापाले प्रतियोगिताले विवाहित र विभिन्न पेशामा आवद्ध महिलालाई माथि उठ्ने मौका दिने बताइन् ।
विजेताको हैसियतमा अमेरिकामा आयोजित प्रतिस्पर्धामा सहभागि भएर उपाधि जित्दाको अनुभव उनले पत्रकार सम्मेलनमा सेयर गरिन् । जितपछि विभिन्न संघ संस्थामा आबद्ध भई बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बताइन् ।
एमएस नेपाल २०२३ सीता सुवेदीले विवाहित महिलालाई अगाडि बढ्नका लागि मिसेस वल्र्ड निकै उपयोगी मञ्च भएको बताइन् ।