धादिङ – आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका आम मानिसहरुलाई गुणस्तरीय स्वास्थ्य सेवाका साथसाथै शिक्षा र सामाजिक उत्थानमा सहयोग पुराउने उदेश्यले स्थापना भएको माउन्टेन हर्ट नेपालले धादिङको विकट तिप्लिङ गााउ विकास समितिको वडा नं ४ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
विहिबार संचालन गरिएकोे शिविरमा २ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा जनेरल मेडिसिन, सर्जरी, महिला तथा प्रसुती, आँखा र छालाका विरामीहरु तथा गत वैशाख १२ गतेको भूकम्पमा घाइते भएका केहि बिरामीले समेत परिक्षण गराएका थिए ।
तामाङ बस्तीको बाहुल्य रहेको सो गाँउमा शिक्षा र चेतनाको अभावले पानीजन्य सरुवा रोगहरु र स्त्रीरोग र हर्निया, हाइड्रोसिल लगायतका समस्याहरु पाइएको थियो । शिविर पछि स्थानीय स्वास्थ्य चौकीलाई अत्यावश्यक औषधीहरु पनि वितरण गरिएको थियो ।
आफ्नै गाँउमा स्वास्थ्य शिविरमार्फत आफ्नो स्वास्थ्य परिक्षण र रोगको उपचार पाउदा स्थानीयहरुले आयोजकलाई आभार प्रकट गरेका थिए । माउन्टेन हर्ट नेपालका संस्थापक तथा कार्यकारी निर्देशक डा। अबन गौतमले आगामी दिनहरुमा पनि यस्तै विकट क्षेत्रमा आधारभुत स्वास्थ्य सेवा पुराउनको लागि यस संस्था प्रतिबद्ध रहेको र यस्ता शिविरहरुलाई निरन्तरता दिने बताए ।