
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।
यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न सार्वजनिक कार्यक्रम कमै गरिए पनि मानसिक रुपमा श्रद्धाभाव प्रकट गरिने जनाइएको छ ।धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । यो असार शुक्ल पूर्णिमाको दिन पर्दछ ।
आज गुरूपूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा मनाइन्छ । वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् । शिक्षा दिने, संगीत सिकाउने लगायत विभिन्न ज्ञान दिनेलाई गुरु भनिन्छ । यस दिन गुरुलाई सम्मान गरी उपहार समेत दिने गरिन्छ । कतैकतै त गुरुदक्षिणा पनि दिने चलन छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ। अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । ब्रह्मा, विष्णु र महेश्वरले समाधान गर्न नसकेको समस्यालाई गुरुले समाधान गर्न सक्छन् भन्ने शास्त्रीय मान्यता छ। यसैले भनिएको छ –
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो।