
काठमाडौं-ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ थान दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका १३ मोटरसाइकल र आठवटा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उपत्यकाको सिंहदरबार, कपन, रामहिटी, गौशाला, नयाँबसपार्क, बालाजु, टोखा, मालिगाउँ, रानीवन, गौरीघाट, बौद्ध, बुद्धनगर, कालीमाटी, मैतिदेवी र चुनदेवीलगायत विभिन्न स्थानबाट हराएका सवारीसाधन फेला पारेर बुझाइएको जानकारी दिए ।
हराएका सवारीसाधन खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा फेला परेका प्रहरी उपरीक्षक खड्काले बताए । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा चार सय १७ सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो साधन सुरक्षित स्थानमा पार्किङ गर्ने तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।