
काठमाडौं – ४० बढी म्युजिक भिडियोमा अभिनय र व्यवसायिक विज्ञापनमा मोडलिङ गरेर उदाएका कुन्साङ बोमजम ‘दान्भी’मार्फत फिल्म अभिनयमा डेब्यु गर्दैछन् ।
असार ७ गतेबाट रिलिज तयारीमा रहेको फिल्मबाट उनी आशावादी छन् । ‘सारांश’ नामक पात्रमा देखिएका उनी दर्शकले आफूलाई रुचाउनेमा ढुक्क छन् ।
‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ । मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । फिल्ममा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु’ कुन्साङ भन्छन् ।
सेन्ट जेभियर्स कलेजबाट उत्तिर्ण उनी स्कुलदेखि नै नाटकका कलाकार र कराँते खेलाडी पनि रहेछन् । ‘मार्सल आर्टलाई निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न सजिलो हुन्थ्यो । ग्याप भएपछि यही फिल्मका लागि मैले ६ महिना एक्सन प्राक्टिस गरें’, कुन्साङ भन्छन् ।
भिन्न टाइपको एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने दाबी उनको छ । ‘नेपाली फिल्म क्षेत्रमा एक्सन फिल्म नआएको धेरै भएको थियो । त्यसमाथि महिलालाई लिडमा लिएर एक्सन भएको त धेरै कमी नै छ । पहिला रेखा थापाले ठूलो छाप छोड्नुु भएको थियो, त्यसपछि कोही अभिनेत्री एक्सनमा देखिनुभएको थिएन । पुजाजीले निकै मेहनतका साथ एक्सन गर्नुभएको छ । फिल्ममा एक्सन कथावस्तु अनुसार गएको छ’, उनी भन्छन् ।