धादिङ-घरबाट निस्कने फोहरलाई वर्गिकरण गरी व्यवस्थापन गर्न सिकाउँदै धादिङबेसीमा विश्व वातावरण दिवस मनाइएको छ । डिभिजन वन कार्यालय धादिङ, नीलकण्ठ नगरपालिका, टोल विकास संस्था महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका संस्थाहरुको आयोजनामा धादिङबेसी बजार क्षेत्र सरसफाइ गरी दिवस मनाइएको हो ।
दिवसको अवसरमा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले शुभकामना सन्देश दिँदै स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउन प्रण गर्नुपर्ने बताउनु भयो । त्यसैगरि कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले सबैको सहयोगले जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न फोहर व्यवस्थापन, वृक्षारोपण आवश्यक रहेको धारणा राखेका थिए ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्यले हरितगृह ग्याँसको उत्सर्जन कम गर्नु भनेको वन जङ्गलको संरक्षण, संवद्र्धन र वन विकासमा टेवा पु¥याउन आवश्यक रहेको बताए । मानव जातिको महत्वाकांक्षा बढ्दै जाँदा भएको प्रकृतिको दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रासका साथै बढ्दो प्रदूषण आज चुनौती बनेको भन्दै आचार्यले विकासलाई वातावरणमैत्री बनाउन फोहर व्यवस्थापन र वृक्षारोपण आवश्यक रहेका पनि बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्मा टोल विकास संस्था महासंघका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा लगायतको उपस्थिति रहेको थियो ।वातावरण दिवस मनाउने क्रममा आज सहभागिहरुले धादिङबेसीको जरेवर, शान्तिटोल लगायतका क्षेत्रमा फोहर वर्गिकरण विधि सिकाउँदै सरसफाई पनि गरेका थिए ।