Mon. Nov 25th, 2024

छाला जोगाउन गर्मीमा लगाउनुपर्छ सनस्क्रिन तर कस्तो र कसरी लगाउने ?

काठमाडौं – मौसम अनुसार छालाको स्याहार गर्न आवश्यक छ । गर्मीमा घाम लाग्दा छालामा विभिन्न समस्याहरु हुन सक्छन्, त्यसैले यो मौसममा छालाको विशेष ख्याल राख्नु आवश्यक छ । यो मौसममा सूर्यको पराबैजनी किरणले हाम्रो छालालाई नोक्सान पुर्‍याउँछ। जसका कारण छालामा घामको नकारात्मक असर देखिन थाल्छ। तसर्थ, सूर्यको हानिकारक किरणहरूबाट आफ्नो छालालाई जोगाउन आवश्यक छ । यसका लागि सनस्क्रिनको प्रयोग गर्नुपर्ने हुन्छ ।

सनस्क्रिन किन आवश्यक छ त ?

सूर्यको एक्सपोजरले सुक्खापन, जलनजस्ता समस्याहरु छालामा निम्त्याउँछ । सनस्क्रिनले छालामा एक तहजस्तै काम गर्छ । जसले यसलाई सूर्यको पराबैजनी किरणहरूबाट हुने प्रत्यक्ष असरबाट जोगाउँछ । पराबैजनी किरणहरूले छालामा प्रवेश गर्न सक्छ र छालाको कोषिकाहरूमा डीएनएलाई क्षति पुर्‍याउँछ ।

सनस्क्रिनमा जिंक अक्साइड, टाइटेनियम अक्साइडजस्ता महत्वपूर्ण चीजहरूले सूर्यको बिकिरणलाई हाम्रो छालामा पर्नबाट रोक्न सहयोग गर्छ । जसले छालालाई समयभन्दा पहिले बुढ्यौली र सनबर्नबाट जोगाउँछ । सनस्क्रिनले हाम्रो अनुहारको कालो दाग धब्बा, हाइपरपिग्मेन्टेसन र घाममा पर्दा छालाको रंगलाई असामान्य हुनबाट रोक्न सहयोग गर्छ। नियमित रूपमा सनस्क्रिन लागू गर्नाले सनबर्न रोक्न सहयोग गर्छ ।

के सनस्क्रिन कुनै मौसम बिशेषमा मात्रै प्रयोग गर्न मिल्ने हो ?

सनस्क्रिन गर्मी मौसममा मात्र होइन बाह्रै महिना लगाउन आवश्यक छ । किनभने जाडोमा पनि सूर्यबाट आउने किरणमा यूबीए र यूबीबीजस्ता हानिकारक किरण आइरहेको हुन्छ । सूर्यबाट आउने किरणमा यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट लगायत विभिन्न लाइट हुन्छन् । जसमध्ये पराबैजनी किरण जसमा यूबीए र यूबीबीले छालालाई केही नकारात्मक असर गर्छ । यसले बाहिरको घामबाट आउने बिकिरणमात्र नभई मोबाइल, ल्याप्टप, र कोठामा बालेको लाइटबाट आउने रेडियसनलाई पनि रोक्ने काम गर्छ । यी पराबैजनी किरणबाट बच्न हामीले सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

के सबै मौसममा एकै खालको सनस्क्रिनको प्रयोग गर्न उपयुक्त हुन्छ ?

सनस्क्रिन दुई किसिमका हुन्छन्, फिजिकल सनस्क्रिन र केमिकल सनस्क्रिन ।
सामान्यतया भन्नु पर्दा जाडोको मौसममा लगाउने सनस्क्रिन र गर्मीमा लगाउने सनस्क्रिन फरक हुन्छ । जाडोमा सुख्खा छालालाई क्रिम बेस सनस्क्रिन चाहिन्छ भने, चिल्लो छालालाई लोसन बेस सनस्क्रिनको प्रया्ेग गर्नुपर्ने हुन्छ ।

त्यसैगरी गर्मीमा सुख्खा छालालाई लोसन र चिल्लो छालालाई जेल बेस सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सामान्य छाला छ भने जुनसुकै लगाउँदा पनि हुन्छ । संवेदनशील छ भने मिनिरल्स सनस्क्रिनको प्रयोग गर्नुपर्छ । हामीले आफनो छालाको परीक्षण गरेर मात्रै सनस्क्रिनको प्रयोग गर्नु सबभन्दा बढी उपयुक्क्त हुन्छ ।

बिशेषगरी गर्भवती महिला, बच्चा, र सेन्सेटीभ स्किन भएकोलाई यसको प्रयोग गर्न अति आवश्यक हुन्छ । ३ देखि ४ घण्टामा सबै सनस्क्रिनले काम गर्न छोड्ने भएकाले प्रत्यक ४ घण्टामा यसको प्रयोग गर्नुपर्ने हुन्छ ।

जुनसुकै सनस्क्रिनको प्रयोग गर्नु हुँदैन । छाला परीक्षण गरेर मात्रै यसको प्रयोग गर्न आवश्यक छ । सधैं उच्च एसपीएफ भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसलाई नियमित रूपमा लगाउनुपर्छ विशेष गरी हामीले बाहिर समय बिताउँदा यसको प्रयोग गर्न आवश्यक छ ।

About The Author

अन्य समाचारहरु: