
काठमाण्डौ – काठमाण्डौको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानी काठमाण्डौ वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरकाअनुसार काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४७ छ ।
त्यस्तै पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।
सुख्खायाम शुरु भएसँगै जङ्गल लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाण्डौको धुलाम्मे सडक, फोहोर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्तालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् । वायु प्रदूषणले सामान्यदेखि जटिलसम्मका स्वास्थ्य समस्या देखा परेका छन् ।
वायु प्रदूषणले तत्कालीन र दीर्घकालीन रूपमा मानव शरीरको हरेक अङ्गमा असर गर्ने डाक्टरहरु बताउँछन् । वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने वरिष्ठ छातीरोग विशेषज्ञ डा।नवीन प्रकाश शाहको भनाई छ । उनले यसबाट जोगिन आवश्यक नपरि घर बाहिर नजाने, जानै परे मास्क लगाउने, पूरा शरिर ढाक्ने कपडा लगाउने, सरसफाईमा ध्यान दिने लगायतका सुझाव दिएका छन् ।