इलामका किसान व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँका झन्डै ७० घरका किसानले व्यावसायिकरूपमा सुपारी खेती गर्दै आएका छन् ।
कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुने भएपछि चुरे क्षेत्रका किसान व्यावसायिक सुपारी खेतीमा आकर्षित हुन थालेका हुन् । उनीहरूले खेतबारी र पाखामा सुपारी रोपेर आयआर्जन गर्न थालेका छन् । सुपारीसँगै अरू बाली पनि लगाउन सकिने भएकाले पनि यसप्रति किसानको आकर्षण बढेको हो । प्रायः सबै परिवारले सुपारी खेती गर्न थालेका स्थानीय तीर्थ साउदेनले बताएका छन् ।
यस वर्ष इलाममा छ सय १० मेट्रिक टन सुपारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । इलाममा दुई सय हेक्टर क्षेत्रमा व्यावसायिक सुपारी खेती हुँदै आएको यादवले बताए। एउटै किसानले पाँच हजार बोटसम्म सुपारी लगाउने गरेका छन् । उनीहरूले एकै बोटबाट ५० किलोसम्म सुपारी उत्पादन गरेर किलोको ५० रुपैयाँमा बेच्ने गरेको बताएका छन् ।