Tue. Nov 26th, 2024

नागढुङ्गा सुरुङ छिचोल्ने काम स्थानीयको विरोधका कारण रोकियो

काठमाण्डौ – धादिङको सिस्नेखोलादेखि काठमाडौं सतुङ्गल जोड्ने निर्माणाधीन नागढुङ्गा सुरूङ छिचोलिने मिति धकेलिएको छ । यसअघि आयोजनाले हिजो मुख्य सुरूङ छिचोल्ने मिति तोकेको थियो । स्थानीयको अवरोधका कारण सबै काम ठप्प हुँदा हिजो सुरूङ छिचोल्न नसकिएको आयोजनाका उपनिर्देशक गोविन्द डुमरूले बताए ।

उनका अनुसार आयोजनाले सुरूङमार्ग माथिका घरहरू अधिग्रहण गर्ने र मुआब्जा दिने योजना बनाएको छैन । सुरूङ खन्ने क्रममा केही ठाउँमा भासिएको र आफ्नो घरजग्गामा बस्न योग्य नभएको भन्दै स्थानीयले सुरूङमार्ग माथिका घरहरूको पनि मुआब्जा माग गरिरहेका छन् ।

त्यस्तै उनीहरूले सुरूङमार्ग प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका कारण फागुन ६ गतेदेखि आयोजनाको सबै काम ठप्प रहेको छ । आयोजनाका कारण खानेपानीका स्रोत सुकेकाले अब आयोजनाले सधैँका लागि खानेपानीको स्रोत व्यवस्था गरिदिनुपर्ने माग स्थानीयको माग छ ।

उपनिर्देशक डुमरूका अनुसार अब आयोजनाको मुख्य सुरूङ १४ मिटर खन्न बाँकी छ । १४ मिटर खनेपछि सुरूङ छिचोलिन्छ । तर स्थानीयको अवरोधका कारण काम कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन । यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहन्छन् । रेस्क्यु सुरूङको छिचोलिइसकेको छ । आयोजनाको मुख्य सुरूङमा गाडी गुड्ने सडक साढे ९ मिटर चौडा हुन्छ ।

About The Author

अन्य समाचारहरु: