Tue. Nov 26th, 2024

डीडीसीले किसानलाई १ अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिन बाँकी

काठमाण्डौ – पाउडर दूध र मख्खनको स्टक बढ्दै गएपछि किसानलाई तिर्नुपर्ने रकम दिन समस्या भएको विभिन्न निकायले बताएका छन् । दूधमा छ अर्ब रुपैयाँभन्दा धेरै बक्यौता रहेको किसानको दाबी छ ।

किसानलाई दूधको पैसा दिनुपर्ने निकाय डेरी उद्योग सङ्घ, नेपाल डेरी एशोसिएसन तथा दुग्ध विकास संस्थान हुन् । दुग्ध विकास संस्थान अर्थात् (डीडीसी)ले किसानलाई एक अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी दिनुपर्नेछ । अरू झन्डै पाँच अर्ब रुपैयाँ निजी क्षेत्रका डेरीको बक्यौता रकम हो । किसानलाई दिनुपर्ने भुक्तानीमा आफूहरू गम्भीर नै रहेको र केही दिनमै निकास निस्कने नेपाल डेरी एशोसिएसन र दुग्ध विकास संस्थानका प्रतिनिधिले बताएका छन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाकाअनुसार अहिले भुक्तानीमा समस्या आउनुको मुख्य कारण पाउडर दूध र मख्खन खपत नभएर हो । डीडीसीमा प्रतिमहिना १५ लाख लिटर बराबरको पाउडर दूध थुप्रिँदा समस्या भएको उनको भनाइ छ । डीडीसीमा मात्रै सवा एक अर्ब रुपैयाँ बराबरको पाउडर दूध र मख्खन मौज्दात रहेको महाप्रबन्धक झाले जानकारी दिए ।

उनका अनुसार नौ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ । डीडीसीले विभिन्न ४३ जिल्लामा उत्पादन भएको दूध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै उपभोक्तामाझ पुर्‍याउँदै आएको छ ।

किसानको बक्यौता डीडीसीमा झन्डै एक अर्ब १० करोड रहेको र यो बक्यौता घटाउन तत्काल सरकारसँग ३० करोड रुपैयाँ सहुलियत ऋण माग गरेको उनको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: