धादिङ– धादिङ अस्पतालमा चिकित्सकको कमजोरीका कारण विरामीको मृत्यु भएको छ ।
आइतबार दिउँसो स्वास्थ्य चेकजाँच गराउन धादिङ अस्पताल आइपुगेकी धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. २ मैदीको पँदेलीथोककी ५८ वर्षीय विद्यादेवी सिंखडाको सोमबार विहान मृत्यु भएको हो ।
आइतबार ओपिडी सेवामा चेकजाँच गरी थप उपचारको लागि अस्पताल भर्ना भएकी सिंखडाको अस्पतालकै कमजोरीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्त र परिवारले सोमबार दिनभर अस्पतालमा घेराबन्दी गरेपछि अस्पताल प्रशासनले पनि आफुहरुको कमजोरी स्वीकार गरेका छन् ।
अस्पताल प्रशासन र मृतकको परिवारविच चार वुदेँ सहमतिपछि शव उठाउने भएका हुन् । हाल निर्माण भएको सिटी स्क्यान भवनलाई विद्यादेवी सिंखडा स्मृति भवन नामाकरण गरिने, उपचारमा संलग्न स्वास्थ्यकर्मीबाट भएको कमजोरी छानविन गरी कानुन बमोजिम कार्वाही गर्ने, अस्पतालको सेवा प्रवाहमा भएका कमजोरी सुधार गर्ने र २१ दिनभित्र घटनाको सत्यतत्य पत्ता लगाइ सक्नुपर्ने सहमति गरेको हो ।