काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न भारतीय लगानीसमक्ष आग्रह गरेका छन् ।
जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने उनको भनाइ छ । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल पाइने भए पनि यी क्षेत्रमा मात्रै लगानी गर्न सरकारले प्रोत्साहन नगर्ने उनको भनाइ छ ।
‘यी चार क्षेत्र लगानीका मुख्य आकर्षण रहेको छ,’ उनले भने, ‘यसबाहेक शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत लगानी गर्दा उत्कृष्ट प्रतिफल प्राप्त हुनसक्छ ।’
नेपालको ५० प्रतिशतभन्दा धेरै क्षेत्रफल उच्च पहाडी क्षेत्र अन्तर्गत पर्छ भने २० प्रतिशत क्षेत्रफल समथर भू(भाग छ । यसबाहेक बाँकी क्षेत्र हिमालय पर्ने अर्थमन्त्री महतले बताए । यी क्षेत्रमा लगानी गरेर आफ्नो अन्य साथीलाई समेत नेपालबारे जानकारी दिन अर्थमन्त्री डा। महतले आग्रह गरे ।
उनले जलविद्युत् क्षेत्रमा नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता गरेको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि निजी क्षेत्रले ध्यान दिनुपर्ने उनले बताए ।
नेपालबारे अस्थिर राजनीतिक व्यवस्था रहेको गलत प्रचार भइरहेकोमा आपत्ति जनाउँदै उनले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।
आगामी दिनमा व्यावसायिक वातावरण थप मजबुत बन्ने उनको भनाइ छ । उनले नेपाल–भारत व्यावसायिक सम्मेलनमा सहभागी सबै भारतीय व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।