काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ जस्तै सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०६४ कै स्थितिमा फर्किन नसके पनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले सरकारबाट पनि नयाँ आन्दोलनको सुरुआत गरेको र अझै नयाँ आन्दोलनको सुरुआत गर्ने उल्लेख गरे । उनले प्रधानमन्त्री कहिलेसम्म रहने भन्नेकुरा मुख्य नभएको तर जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको कुरा आफ्ना लागि मुख्य रहेको बताए ।
उनले पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको बताए । प्रधानमन्त्री प्रचण्डले राजश्व तथा पर्यटनमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताए । उनले विदेशी मुद्राको सञ्चितिको स्थिति उत्साहजनक रहेको बताए ।