धादिङ- दसैं, तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्ट्रिकजन्य फूल, माला र गुच्छाको विक्रीवितरणमा कडाई गरिएको छ । स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिँदै धादिङमा प्लाष्टिकजन्य मालाको विक्री वितरणमा कडाइका साथ रोक लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङले पटक पटक सूचना निकालेर प्लाष्टिकका मालाहरु विक्रि वितरण नगर्न सुझाव दिँदा पनि अटेर गरी विक्रि गर्ने पसल तथा होलसेलहरुबाट प्लाष्टिकजन्य फुलका मालाहरु जफत गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम धादिङबेसी, मलेखु, बेनिघाट, गजुरी लगायत बजारहरुमा अनुगमन गरी पसल तथा होलसेल व्यापारीले विक्रिका लागि राखेका करिब २५ हजार बराबरको माला जफत गरेको छ ।
नेपालमा हरके बर्ष तिहार, छठलगायतको पर्वमा भारतलगायतका देशबाट प्लाष्टिकका फुल, माला तथा सजावटका सामानहरु भित्रिने गरेको छ । त्यसले एकतर्फ नेपालमै फुल खेती गर्ने किसान मारमा परेका छन् भने ठूलो परिमाणमा पैसा देश बाहिर गएको छ । देशमा उत्पादित फुलहरुलाई प्रोत्साहन गर्न यस्तो रणनिति लिएको बजार अनुगमन समितिका संयोजक एवं् जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए ।
बजारमा प्राय कष्मेटिक पसलहरुले प्लाष्टिकका मालाहरु विक्रि वितरण गरिरहेको पाइएको छ । भारतमा सस्तो मुल्यमा त्यस्ता माला पाइने र नेपालमा महंगो मुल्यमा विक्रि गर्न पाइने भएपछि कपडा पसलहरुले समेत प्लाष्टिकको माला विक्रि गर्ने गरेको फेला परेको घरेलु तथा साना उद्योग कार्यालय धादिङका अधिकृत राजेन्द्र कोइरालाले बताए ।
स्थानीय प्रशासनले प्लाष्टिकमा माला विक्रि गर्न रोक लगाउँदै अनुगमनलाई समेत कडाई गरेपछि स्थानीय पनि खुसी भएका छन् । खेतबारीमा फुलेका थोरै फुलको माला उनेर बजारमा विक्रि गरी घरायसी सरसामान किन्न पाइने भन्दै वेनिघाट रोराङ गाउँपालिका–३ बेनिघाटका डिल्लीराम ढकालले खुसी व्यक्त गरे ।
फुलैफुलको चाडको रुपमा मनाइने दिपावली तथा छठ पर्वमा घर, पसलहरु सजाउनको निम्ति प्रयोग हुने प्लाष्टिकको विभिन्न फुल, माला तथा सजावटका सामानहरु किनबेच नगर्न आग्रह गरिएको छ । अटेर गरी प्लाष्टिकजन्य माला विक्रि वितरण गरेको फेला परे कानून अनुसार कारबाही गर्ने अनुगमन समितिले चेतावनी दिएको छ ।