Tue. Nov 26th, 2024

बजार अनुगमनमा भेटियो भाई मसलामा म्याद गुज्रिएको खानेकुरा

धादिङ- धादिङका बजारहरुमा विक्रि भइरहेका भाई मसलाका प्याकेटमा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा होलसेल पसलहरुले विक्रिका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामाग्री फेला परेको हो ।

व्यापारीहरुले विक्रिका लागि राम्रो देखाएर तयार पारेको भाई मसलाका प्याकेटमा म्याद सकिएका र गुणस्तरहीन चकलेट, चोकोपाई, र विस्कुटहरु फेला परेको बजार अनुमगन समितिका संयोजक एवं् धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए। तिहार लक्षित बजार अनुगमनको क्रममा व्यापारीले आफै तयार गरी विक्रिका पसलहरुमा पु¥याएको विभिन्न किसिमका भाई मसलाका प्याकेटहरुमा म्याद सकिएका गुणस्तरहीन खानेकुरा भेटिएपछि त्यस्ता खाद्य सामाग्री विक्रि नगर्न सचेत गरिएको पराजुलीले जानकारी दिए।

‘दिपावलीमा प्रयोग हुने भाईमसलामा म्याद गुज्रिएका चकलेट, किसमिस, काजु, वखर, सुपारी लगायतका सामाग्रीहरू फेला परेको छ’, पराजुलीले भने–‘सचेत गराउदा अटेर गरेर विक्रि गरेको पाइए सर्वसाधारणको स्वस्थ्यमा असर पुग्ने सामाग्रीको प्रयोग गरेको अभियोगमा कारबाही गर्नेछौं ।’


सिजनल व्यापारको मौका छोपेर व्यापारीहरुले गुणस्तरहीन सामान हालेर महंगोमा भाइमसला बनाएर विक्रि गर्न थालेको पाइएपछि अनुगमनमा कडाई गरिएको छ । व्यापारीहरुले त्यस्ता सामान किनबेच गर्दा बिल समेत लिनेदिने नगरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताए । विभिन्न किसिमका सामानहरु जम्मा गरेर आफैले प्याकिङ गरिरहेको समेत फेला परेको उनले जानकारी दिए ।
तिहार लक्षित भाईमसलाका सामानहरू सदरमुकामका होलसेल पसलहरुबाट गाउँगाउँमा समेत सप्लाइ भैसकेको हुनसक्ने भएकोले उपभोक्ता आफै सचेत रहन पनि आग्रह गरिएको छ ।

About The Author

अन्य समाचारहरु: