धादिङ– जाजरकोटका भुकम्प प्रभावितलाई धादिङबाट सार्वजनिक सवारीमा राहत सामाग्री पठाइएको छ ।
भुकम्पको कारण मानवीय तथा भौतिक क्षति व्यहोरेको प्रभावित क्षेत्रमा राहत भन्दा धेरै मानिसहरुको भिड लागेको र राहत सामाग्री कम पुगेको गुनासो आईरहेका बेला धादिङबाट सार्वजनिक सावारी साधनमा राहत सामाग्री पठाईएको हो ।
भुकम्प पिडितलाई दिईने राहत भन्दा भुकम्प प्रभावित क्षेत्रसम्म आउजाउ गर्न धेरै आर्थिक खर्च हुने भएकोले आउजाउ गर्दा लाग्ने खर्च समेतले राहत सामाग्री गरिद गरि सार्वजनिक सवारी साधनमा राहत सामाग्री जाजरकोट पठाइएको नीलकण्ठ नगरपालिका-३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रेष्ठको नेत्रृत्वमा संचालन भइरहेको वडा अध्यक्ष अक्षयकोषमा स्थानीय यूवाहरुले रकम जम्मा गरी सामाग्री पठाएको पनि उनले जानकारी दिए ।
बढ्दै गरेको चिसोलाई मध्यनजर गरी एक सय ३० थान सिरक, जाडोमा लाउने सुरूवाल, हुक र टोपीसहित चार सय सेट, ढकन सहितको बाल्टिन र मग ५० सेट सहित संकलन गरीएका अन्य कपडा पनि प्रभावित क्षेत्रमा पठाइएको छ ।
स्थानीय युवाहरुको सहभागितामा अक्षय कोष मार्फत दुई लाख ५१ हजार बराबरको राहत सामाग्री गए राती ना ७ ख ६९६३ नम्बरको काठमाडौंबाट जाजरकोट जाने बसमा पठाइएको हो । राहत रकम लिएर आउजाग गर्दा लाग्ने खर्चले केहि राहत सामाग्री थपिने भएकोले संन्देशका रुपमा पनि सामाग्री यसरी पठाइएको अधिवक्ता समेत रहेका रामकृष्ण अधिकारीले बताए ।
यसरी पठाईएको राहत सामाग्री पत्रकारमहासंघ जाजरकोटको समन्वयमा विपद व्यवस्थापन समिति जाजरकोट मार्फत भुकम्प प्रभावितहरुलाई वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ शाखा पनि राहत लिएर जाजरकोट पुगेको छ । घरबार विहिन भएर खुल्ला आकासमुनी परेकाहरुलाई त्रिपाल र लत्ताकपडा लिएर रेडक्रस धादिङका सभापति दुर्लभ तामाङसहितको टिम जाजरकोट पुगेको हो ।
त्यसैगरी नेपाली कांग्रेस धादिङले एक लाख ५१ हजार नगद प्रधानमन्त्री दैवि प्रकोप कोषमा जम्मा गरिदिएको छ । गत शनिबार सम्पन्न नेपाली कांग्रेसको प्रथम जिल्ला अधिवेशनमा संकलन भएको र बाँकी जिल्ला कार्यसमितिले थप गरेर भुकम्पबाट प्रभावितहरुका लागि राहत र उद्धारमा खर्च गर्नेगरी कोषमा जम्मा गरिदिएको नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले जानकारी दिए ।