धादिङ – अभिभावक गुमाएपछि खान लाउन पनि नपाएर बालबालिकाहरुको विचल्ली भएको धादिङका चन्द्रकला चेपाङका परिवारलाई काभ्रेका राजु लामाले सहयोग गरेका छन ।
धादिङको जोगीमारा गाउँ विकास समिति वडा नं २ जवाङका सुमानसिंह चेपाङको गत असार २८ गते सुतेकै ठाउँमा मृत्यु भएको थियो । दिनभर ज्याला मजदुरी गरेर कमाएर ल्याउने घरमुलीकै मृत्यु भएपछि बालबालिका र श्रीमतीको विचल्ली भएको समाचार पाविल न्युज डट कम लगायत विभिन्न संचारमाद्ययमा प्रकाशित भएपछि काभ्रे स्थायी घर भइ काठमाण्डाँै भैसेपाटी बस्ने राजु लामाले किरिया गर्दा लागेको खर्च १० हजार, चार जना बालबालिकाको लागि र परिवारकै लागि लत्ताकपडा र खाद्यान्नहरु सहयोग स्वरुप गाउँमा नै पुगेर हस्तान्तरण गरेका हुन । बालबालिकाहरुले चाहेको खण्डमा बालबालिकाहरुको उच्च शिक्षासम्मको पढाइमा पनि सहयोग गर्ने प्रतिबद्धता लामाले जनाएका छन ।
३ छोरी र १ छोरा रहेका सुमानसिंह गत असार २८ गते साँझ खाना खाएर सुतेका बेला विहान मृत भेटिएका थिए । खेतीपातीबाट उब्जिएको अन्नले तीन महिनामात्र खान पुग्ने चन्द्रकला चेपाङको परिवार नै विचल्ली भएपछि उनका एक छोरा र छोरीलाइ जिल्ला बाल कल्याण समिति धादिङले संचालन गरेको अन्तरिम संरक्षण गृहमा राखिएको छ । ती बालबालिकाहरुलाइ मिलेसम्म परिवारकै जिम्मा लगाउने र परिवारले राख्नै नसकेको खण्डमा संरक्षण गृहमा पठाइने जिल्ला बाल कल्याण समितिले जनाएको छ ।
सुमानसिंह तिनै ब्यक्ति हुन जो साहुको ऋण तिर्न नसकेर ७ वर्षअघिदेखि ओढारमा बस्दै आएका थिए । साहुले भएको खेतवारी पनि बन्धकीमा राखेपछि ओढारमा पुगेको भन्ने बारेमा विभिनन संचार माद्ययमा समाचार प्रकाशित भएपछि विभिन्न दाताहरुको सहयोगमा ऋण तिरिदिनुका साथै उनलाइ घर बनाएर ओढारबाट फर्काइएको थियो ।