
काठमाडौं – द्वन्द ग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरूले आफुहरुको उद्धार गरिदिन आग्रह गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थीहरूले भिडियो सन्देश जारी गर्दै आफुहरुको उद्धार गरिदिन सरकारसँग आग्रह गरेका हुन्
तीन दिनदेखि मानसिक र शारीरिक पीडाबाट गुज्रिरहेको भन्दै विद्यार्थीहरूको नेतृत्व गरिरहेका लिडर विपिन सुवेदीले भिडियो सन्देशमा आफूहरूको अवस्था निकै नाजुक रहेको बताएका छन् ।
शनिवारदेखि बंकरभित्रै लुकेर बसेका छन् । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा रहेको भन्दै उनले आजसम्म उद्धार नहुँदा बाध्य भएर बनाउनुपरेको बताएका छन् ।
‘हामी ५ जना छौँ । घरकालाई तनाव हुन्छ भनेर भिडियो नबनाउने पक्षमा थिए । तर, घरभन्दा माथि उठेर देशले केही नगरेको अवस्थामा यो भिडियो बनाउन विवश छौँ । यो बङ्कर हो । यो बंकरमा बस्न थालेको तीन दिन भयो,’ उनले भिडियोमा भने, ‘एम्बेसीले उद्धार गर्छ कि भनेर हामी लुगा लगाएर बसिरहेका छौँ । हामी रातभरि बंकरमाथि मिसाइल खस्दा निकै डर लाग्छ । हामीले १० जना साथी त गुमाइसकेका छौँ । हामी पनि गुम्छौँ कि भन्ने डर छ । १० जनाको साथीको त्यो चिच्याहट, हामीलाई गरेको हार गुहार, सुनेर रातभरि निद्रा लाग्दैन ।’
‘बंकरभित्र रहँदा कुन बेला आतंकवादीहरू आएर मार्ने हो भन्नेमा कुनै टुङ्गो छैन’ उनले भनेका छन् । ४९ जनामा १० जना साथीहरू गुमाइसकेको भन्दै अब आफूहरूको समेत त्यस्तै अवस्था हुने हो कि भन्नेमा चिन्तित रहेको उनले बताएका छन् ।