धादिङ–धादिङमा आजदेखि दुई दिने जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगिता सुरु भएको छ ।धादिङबेसीको कभर्ड हलमा सुरु भएको प्रतियोगिताको नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले उद्घाटन गरेका छन् ।
उद्घाटन कायक्रमलाई सम्बोधन गर्दै मेयर ढुंगानाले खेलकुदको विकासमा सहयोग गर्न आफु सधै तयार रहेको बताए । खेल क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका निम्ती बोलेर भन्दा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।
सितोरियो कराँते महासँघको केन्दिय अध्यक्ष धावा गुरुङ (दावा)लेखेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन भएकोले असल समाज निर्माणको लागि खेलकुद क्षेत्रको विकास आवश्यक रहेको बताए ।
अन्तराष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन खेलकुद सबैभन्दा दरिलो माध्यम भएकोले ठाउँठाउँमा आयोजना हुने खेलकुद प्रतियोगिताले अन्तराष्ट्रिय खेलहरुमा प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादनमा सहयोग पुग्ने उनले बताए । देश हाक्ने राजनीतिज्ञमा खेलाडीको जस्ताअनुशासन, लगनशिलता र इमान्दारिता आवश्यक महशुस भएको गुरुङको बताए ।
असोज २१ गते आइतबारसम्म संचालन हुने प्रतियोगितामा २० देखि ६० किलो वजनका खेलाडीहरूको सहभागिता रहेको छ ।जिल्ला स्तरीय सितोरियो कराँते प्रतियोगितामा धादिङबेसी, निगालपानी, लापा र सेर्तुङ सितोरियो कराँते डोजोबाट ८० खेलाडी सहभागी छन् ।
काता र कुमुते (फाइट) गरी दुई विधामा हुने प्रतियोगितामा सबैभन्दा धेरै स्वर्ण, रजत र कास्य जित्ने टिम र खेलाडी विजयी हुनेछन् । धादिङमा तीन सय भन्दा धेरै सितोरियो कराँते खेलाडी छन् ।