
काठमाडौँ – यतिबेला अभिनेत्री वर्षा शिवाकोटी फिल्म ‘परदेशी २’ को प्रचारमा व्यस्त छिन् । आगामी असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ यो फिल्म । लोकप्रिय गायक नारायण रायमाझी निर्देशित फिल्मको अहिले जोडतोडले प्रचारप्रसार चलिरहेको छ ।
निर्माण पक्षले कलाकारलाई २ युनिटमा विभाजन गरेर उपत्यका र उपत्यका बाहिर एकसाथ प्रचार प्रसार गरिरहेको छ । फिल्मको मोफसल प्रचारमा कलाकार प्रकाश सपुत, केकी अधिकारी, निर्देशक रायमाझीलगायत छन् भने उपत्यकामा अभिनेत्री वर्षा शिवाकोटी, निर्माता राजेश बंशललगायत छन् ।
‘परदेशी २’ हिट फिल्म ‘परदेशी’को सिक्वेल हो । ‘परदेशी’ले वैदेशिक रोजगारीको कथामा उठाएको थियो । यो फिल्म सिक्वेल भएकोले त्यही कथामा हुन सक्ने धेरैले अनुमान लगाएछन् । फिल्म प्रचारकै क्रममा रातोपाटीसँग ठोकिएकी अभिनेत्री वर्षाले भने अध्ययनका सिलसिलामा विदेशका राम्रो मुलुकमा जान चाहने युवाको कथा फिल्मले उठाएको रहस्य खोलिन् ।
फिल्ममा अध्ययनका लागि विदेशिने युवकको भुमिकामा प्रकाश सपुत छन् । गायकको रूपमा चर्चित सपुतले यसैबाट फिल्ममा डेब्यु गरेका हुन् । वर्षा सपुतको विदेशी प्रेमिकाको भूमिकामा छिन् ।