Fri. Mar 14th, 2025

मोदीविरुद्ध हरियाणा कांग्रेस अध्यक्ष भानले दिए ‘आपत्तिजनक’ अभिव्यक्ति

भारतको हरियाणा कांग्रेस अध्यक्ष उदय भानले प्रधानमन्त्री नरेन्द्र मोदी र हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरविरुद्ध दिएको आपत्तिजनक बयान सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जसका कारण विवाद बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तर भानले आफूले कुनै आपत्तिजनक भाषा नबोलेको जिकिर गरेका छन्।

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, ‘मैले केही गलत बोलेको छैन। सत्य जे हो, त्यही कुरा मैले अगाडि राखेको हुँ। तिललाई पहाड बनाइएको छ। त्यसमा आपत्तिजनक कुरा केही छैन। त्यो हरियाणामा बोल्ने आम भाषा हो।’

उनको भनाइप्रति टिप्पणी गर्दै हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले भने, ‘परिवारवादमा डुबेको पार्टी र नातावादको मानसिकतामा गुलाम भएका मानिसले मैले देशका १४० करोड जनतालाई माननीय प्रधानमन्त्रीजी र हरियाणाका पौने ३ करोड जनतालाई म आफ्नो परिवार मान्छौँ भन्ने कुरा बुझ्दैनन्। कांग्रेसलाई मैले होइन, हाम्रो परिवारका यिनै जनताले जवाफ दिनेछन्।’

भाजपाका प्रवक्ता सुधांशु त्रिवेदीले उनको भनाइको आलोचना गर्दै यसले भाजपा कार्यकर्तालाई चोट पुगेको बताए।

उनले भने, ‘राजनीतिमा यो नीचताको पराकाष्ठा हो। हाम्रा एक सांसदको मुखबाट केही नचाहिने कुरा निस्किएपछि सदनमा उपस्थित हाम्रा वरिष्ठ नेता राजनाथ सिंहले तत्काल खेद व्यक्त गर्दै विपक्षीसँग माफी माग्नुभयो। उहाँविरुद्ध हाम्रो पार्टीले तुरुन्त नोटिस जारी गर्‍यो। उहाँ त कांग्रेसको प्रदेश सभापति हुनुहुन्छ र यो कांग्रेसको आधिकारिक भनाइ हो, कांग्रेसले के कारबाही गरिरहेको छ?’

About The Author

अन्य समाचारहरु: