काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालय सानेपामा केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा धारणा राख्ने सदस्यहरुले पार्टीका तर्फबाट सरकारमा सहभागी भएरमात्रै नपुग्ने भन्दै सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।
साथै, उनीहरुले सरकारलाई जनमुखी र प्रभावकारी बनाउनका लागि प्रधानमन्त्रीलाई समेत आग्रह गर्नुपर्ने धारणा राखेका थिए । आइतबार सम्पन्न बैठकपछि प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय सदस्यहरुले जनतालाई प्रत्यक्ष महशुस हुने गरि सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने धारणा आएको जानकारी दिए ।
उनले निश्चित उदेश्यका साथ बनाइएको गठबन्धनलाई निरन्तर अघि बढाउनुपर्ने धारणा कांग्रेसको रहेको बताए । सरकारले गरेको ठिक कामलाई जनतामाझ पुराउनुपर्ने र सरकारको कमीकमजोरीका बारेमा पनि औँल्याउन सकिने उनको भनाइ छ ।