हेटौंडा – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई सदन र सडक दुवैबाट दबाब दिन जरुरी रहेको बताएका छन् । आइतबार समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । त्यस्तो होइन । सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ । त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौँ । हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौँ ।’
अध्यक्ष नेपालले सत्ताबाहेक मोर्चाको उद्देश्य छैन भन्नु गलत रहेको बताउँदै भने, ‘हामी मिसन समाजवादमा पुग्ने उद्देश्यमा थियौं । हाम्रो सिद्धान्त र आदर्श समाजवाद हो । सरकार, सडक र सदन तीनवटै मोर्चामा हामी हुनेछौँ ।’
उनले भ्रष्टाचारमुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने बताए । साथै, संविधानको पूर्ण कार्यान्वयनका लागि मोर्चाले काम गर्ने उनको भनाइ थियो ।