काठमाडौंं– नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दै छ ।
बिहान ९ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्घाटन गर्ने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्म जयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो । कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ ।
तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।