
कास्की – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको दाबी गरेको छ । समाजवादी मोर्चाले आज शुक्रवार पोखरामा आयोजना गरेको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले माधव नेपाल निर्दोष साबित भएको नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेको दाबी गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले बयान लिएको र मुद्दा चलाउन नपर्ने भएपछि निर्दोष साबित गरेको प्रचण्डको दाबी छ । उनले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा धेरै खालका व्यक्तिहरू संलग्न रहेको उल्लेख गरे। क्विन्टलका क्विन्टल सुन तस्करी हुने गरेको थाहा पाएपछि सरकारले अनुसन्धान शुरु गरेको उनले बताए ।
प्रचण्डले आसन्न चीन भ्रमणका क्रममा पोखरा र गौतमबुद्ध विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान, कोरोला नाका, रुइला नाका सञ्चालन, विद्युत व्यापारलगायतका विषय राख्ने बताए ।