धादिङ– सुन चाँदी व्यवसायीलाई कोटा प्रणालीमा सुन दिने नीति बनाएर चाहे जस्तो व्यवसाय गर्न नपाएको नेपाल सुन चाँदी कला व्यवसायी संघका केन्द्रिय अध्यक्ष घनश्याम रिजालले गुनासो गरेका छन् ।
नेपाल सुन चाँदी व्यवसायी संघ धादिङको १६औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनलाई सम्बोधन गर्दै रिजालले सुन तस्करी हुँदा राज्यले राजस्व पनि गुमाउनु परेको र अर्कातिर व्यावसायीले कच्चा पदार्थ पाउन नसकेको अवस्था रहेको बताए । रिजालले व्यवसायिक हकहित प्रवद्र्धन, ग्राहक सचेतना, कालीगढको सिप तथा कला अभिवृद्धिमा जोड दिने समेत बताए ।
नगर उप–प्रमुख दिपक व्यावसायिक संघ–संगठनमा कुनै प्रकारको राजनीतिक द्वन्द नगरी व्यावसायिक हितमा लाग्न अनुरोध गरे । सुन चाँदि कला व्यवसायलाई स्थानीय सरकारले घरेलु उद्योगका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने धारणा राखे ।
राज्यले सहयोग गरेको नगरेको तथा कर आतंक र अनुगमनको नाममा व्यवसायीलाई दुःख दिने गरेको र सञ्चार माध्यमहरुले पनि विषय वस्तु नबुझी समाचार सम्प्रेषण गरेको कार्यक्रममा उपस्थित वक्ताहरुको भनाई थियो । कार्यक्रममा नेपाल सुन चाँदि कला व्यवसायी संघले धादिङका संस्थापक अध्यक्ष एताबहादुर सुनारसहित संस्थापकहरुलाई सम्मान समेत गरेको छ ।