धादिङ- धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा सहकारी तरकारी पसल उपभोक्ताको रोजाइमा परेको छ । जिल्ला सहकारी संघ धादिङले सात महिनाअघिबाट संचालनमा ल्याएको सहकारी तरकारी पसलमा सस्तोमा ताजा पाउने भएपछि उपभोक्ताको रोजाइमा परेको हो।
सहकारी पसलमा नियमित तरकारी तथा फलफुल किन्दै आएकी कविता थापा भन्छिन्–‘हेर्दा पनि सफा छ । हरियो तरकारी ताजा पाइन्छ । बजारका अन्य पसलमा भन्दा सस्तो पनि भएकोले सधैं यहि आइपुग्छु ।’
बाहिरका तरकारीको मुल्य र सहकारी तरकारीको मुल्य उस्ताउस्तै भएको बेला पनि ताजा पाइने भएकोले उपभोक्ताहरुले सहकारीको तरकारी पसललाई रोज्ने गरेका छन् । खुद्रा तरकारी लिन मात्रै होइन होटल व्यवसायीहरुले पनि यहीको तरकारी रोज्न थालेका छन् । होटल व्यवसायी मुना गोतामे भन्छिन्–‘बजारमा पाईने र सहकारी पसलमा पाइने तरकारीको मुल्य उस्तै भएपनि ताजा पाउने भएर त्यहि जाने गरेको छु ।’ होटलमा खाना तथा खाजा बनाउनका लागि आवश्यक पर्ने कागती, खुर्सानी, मुला, गाँजर, काँक्रो समेत यही पाउने भएकोले सहज भएको गोतामेले बताईन् ।
स्थानीय किसानकै उत्पादन विक्रि गर्ने र उपभोक्तालाई उचित मुल्यमा उपलब्ध गराउने उद्देश्यसहित संचालनमा आएको सहकारी तरकारी पसल उपभोक्ता र किसान माझ लोकप्रिय बन्दै गएको छ । ‘किसान र उपभोक्ताकै हितका लागि संचालनमा ल्याइएको पसलले अहिले राम्रै चर्चा बटुलेको छ’, सहकारी संघका व्यवस्थापक दोलख गुरुङले भने ।
बजारका अन्य तरकारी तथा फलफुल पसलमा भन्दा दुई÷चार रुपैंया भएपनि सस्तो र ताजा तरकारी पाइने भएकोले यो पसलमा उपभोक्ताको भीड नै लाग्ने गरेको छ । स्थानीय स्तरमा उत्पादन हुने गोलभेडा, सिमी, बोडी, काउली, बन्दा, फर्सी, च्याउ, सागलगायत सिजन अनुसारको हरियो तरकारी उपभोक्ताले निकै रुचाएको व्यवस्थापक गुरुङले बताए । ताजासँगै सस्तोमा पाइने भएकोले सिजन अनुसारको तरकारीमा उपभोक्ता झुमिएको गुरुङको बुझाई छ ।
सांङ्कोष, सुनौलाबजार, नीलकण्ठका किसानहरुले उत्पादन गरेको तरकारी किसानहरुले सहकारी पसलमा नै विक्रिका लागि पु¥याउने गरेका छन् । स्थानीय उत्पादनले उपभोक्ताको माग नधानेको बेला धादिङकै बेनिघाट स्थित चरौदी तरकारी संकलन केन्द्र, धुनिबेसीको थाक्रेमा रहेको तरकारी संकलन केन्द्रबाट तरकारी तथा फलफुल ल्याउने गरेका छन् ।
सहकारीको तरकारी पसल विद्यार्थीको रोजाइमा छ । विद्यालय र कलेजहरुको नजिक रहेकोले पनि सदरमुकाममा कोठा भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीहरुलाई साँझ विहान तरकारी किन्न सहज छ । सस्तो र ताजा तरकारी पाउने भएकोले साथीहरु पनि यही आउने गरेको नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्ययनरत लक्ष्मी घलेले बताईन् ।
तरकारी तथा फलफुल उत्पादन गर्ने किसानहरुसँग सिधै सम्पर्क हुने र किसानले पनि सिधै सहकारीमा ल्याउन सक्ने भएकोले बिचका व्यापारीबाट हुने ठगीबाट किसान जोगिएका छन् । सिधै किसानबाट खरिद गर्दा सहकारीलाई पनि सस्तो पर्ने भएकोले पनि सस्तोमा उपभोक्तालाई विक्रि गर्न सम्भव भएको जिल्ला सहकारी संघ धादिङका व्यवस्थापक गुरुङको भनाई छ ।
तरकारीको अफसिजन भएकोले हाल दैनिक सरदर ३५ हजारको हाराहारीमा तरकारी तथा फलफुलको कारोबार भइरहेको गुरुङले जानकारी दिए । स्थानीयलाई गाउँमा उत्पादन हुने तरकारीलाई सहकारी पसलमा ल्याउन आग्रह गरेका छन् । दाल, चामल, तेल पनि सहकारीले विक्रि गर्दै आएको छ ।