Wed. Nov 27th, 2024

धादिङमा धानको उत्पादन घट्ने शंकेत, पालिकाहरुसंग नै छैन रोपाईको तथ्यांक

धादिङ– धादिङमा यो वर्ष असारे धानको उत्पादन घट्ने देखिएको छ । पानी नपरेका कारण समयमै रोपाई हुन नसक्दा उत्पादन घट्ने संकेत देखिएको कृषि प्राविधिकहरुले बताएका छन् । 

‘एक त यो वर्ष टारी खेतहरुमा रोपिएका छैनन् । रोपाइ भएका खेतमा पनि समयमै रोपाई गर्न नसक्दा उत्पादनमा कमी आउने देखिन्छ’, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का अगुवा कृषक लेख बहादुर श्रेष्ठ भन्छन्–‘समय मिलाएर रोपाइ भएको वर्ष त अनेकौं समस्याले उत्पादन बिग्रिन्छ, यो वर्ष त बुढो भइसकेको बिउमा बाला लाग्ने छाँट देखिदैन ।’

धादिङ जिल्लाभर ११ हजार ५ सय ७६ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएकोमा यो वर्ष ९६ प्रतिशत रोपाई भएको कृषि ज्ञान केन्द्र धादिङले जनाएको छ । तर, फिल्डमा त्यति रोपाई भएको पाइदैन । किनकी सदरमुकाम आसपासकै टारी खेतहरुमा पनि यो बर्ष रोपाई भएको छैन ।

कृषि प्राविधिकहरुले पनि यो वर्ष असारे धानको उत्पादन घट्ने अनुमान लगाएका छन् । समयमै पानी नपर्दा र रोपाई ढिलाई हुँदा धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले बताए ।

ज्ञान केन्द्रको तथ्यांक अनुसार ५० हजार मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । खोला खेत बाहेक ढिलो गरी रोपाइ भएका टारी खेतहरुमा अघिल्लो वर्षहरुको तुलनामा उत्पादन घट्ने देखिएको छ । विउ छिप्पिसकेपछि रोपाई गरिएकोले पनि उत्पादनमा कमी आउने कृषि प्रसार अधिकृत शर्माले बताए ।

कृषि ज्ञान केन्द्रले ९६ प्रतिशत खेतमा रोपाई भएको भनेपनि स्थानीय पालिकाहरुले भने एकिन तथ्यांक नै दिन सकेको छैन । नीलकण्ठ नरपालिकामा ८५ प्रतिशत मात्रै धान रोपाइ भएको बताएको छ । खहरे खोला लाग्ने खेतहरु र पखेरा खेतहरुमा रोपाइ हुन नसकेको कृषि प्राविधिकहरुले जानकारी दिएका छन् ।

सिद्दलेक गाउँपालिकासँग धान खेती हुने खेतको समेत एकिन तथ्यांक नै छैन । मोटामोटी अनुमानको भरमा कृषि ज्ञान केन्द्रमा रिपोटिङ गरिएको सिद्दलेक गाउँपालिका कृषि शाखाका प्रमुख कोमल प्रसाद जोशीले बताए । कति जमिनमा धान खेती हुन्छ, कति उत्पादन हुन्छ भन्ने कुरा गाउँपालिकासँग कुनै तथ्यांक नभएको र त्यसरी रिपोर्टिङ गरेर बस्ने फुर्सद नभएको जोशीले प्रतिकृया दिए ।

धान उत्पादनको मुख्य क्षेत्र मानिएको नीलकण्ठ नगरपालिका, सिद्दलेक गाउँपालिका, गजुरी गाउँपालिका र धुनिबेसी नगरपालिकाका टारी खेतहरु यो वर्ष रोपिएका छैनन् । यी पालिकाहरुमा उत्पादन घटेपछि जिल्लाभरकै उत्पादनमा कमी आउने देखिएको छ ।

About The Author

अन्य समाचारहरु: