
काठमाण्डौ – अविरल वर्षाका कारण काठमाण्डौ उपत्यकासँगै देशैभरका नदी तथा खोलामा जलसतह बढेको छ । गए रातिदेखि निरन्तर परिरहेको पानीले बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासका केन्द्रमा ठूलो वर्षा हुँदा बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायत नदीमा बाढी आएको हो । नदी तथा खोलामा बाढी आएपछि नदी किनारका घर पसलमा पानी पसेको छ ।
काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा बाढी तथा पहिरोमा फसेकाहरूमध्ये केहीको उद्धार भएको र उद्धार कार्य भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
यस्तै अविरल वर्षा भएपछि कञ्चनपुरमा एक सय १० वटा घरमा पानी पसेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कञ्चनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।