Fri. Nov 29th, 2024

धादिङमा फैलियो आँखा पाक्ने रोग :बच्ने उपायहरु जान्नुहोस्


चिनो सारु

धादिङ– डेंगुको संक्रमणसँगै धादिङमा आँखा पाक्ने रोग पनि फैलिन थालेको छ । केही दिनयता जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा मात्रै दैनिक ७० जना भन्दा बढी विरामी आँखा जचाउन आउने गरेका छन् । ४० देखि ४६ जनामा पाक्ने समस्या भेटिएको छ ।

एक्कासी आँखा रातो हुने, पोल्ने, घाममा हेर्न नसक्ने समस्या लिएर आउने विरामीको संख्या एक सातादेखि झण्डै दोब्बरले बढेको चिकित्सकहरुले बताएका छन् । ‘आँखा पाक्ने समस्या भएका बिरामी अत्यधिक रुपमा अस्पताल आइरहेका छन् । समुदायस्तरमा आँखा पाक्ने समस्या प्रकोपका रुपमा देखिएको छ’, जिल्ला सामुदायिक आँखा केन्द्रका नेत्र अधिकृत डा. रामसिं तामाङले भने, ‘बढीजसो बालबालिका र युवामा समस्या देखिएको छ ।’

अहिले आँखा पाक्ने रोग लिएर उपचारका लागि विभिन्न सरकारी तथा निजी अस्पताल र प्राइभेट क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको चिकित्सकको भनाइ छ ।

यसबाट बच्न रोग भएकाले प्रयोग गरेका कुनै पनि सामान नधोइकन प्रयोग नगर्ने, पटक पटक हात–मुख धुने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान जस्ता सामानको अरूले प्रयोग नगर्ने, एउटा आँखाबाट अर्को आँखामा रोग नसरोस् भन्नका लागि आँखा नजिक नहेर्ने, डाक्टरलाई जाँच गराएर औषधिको प्रयोग गर्न डा. तामाङले सुझाव दिएका छन् । धुवाधुलोबाट जोगिन सकियो भने पनि घरमा बसेर यो रोगबाट बच्न सकिने उनको भनाई छ ।

आँखामा संक्रमित भएका मानिसहरुमा आँखा रातो हुने, घाममा हेर्न गाह्रो हुने, आँखाको भित्री जालो रातो हुने समस्या लक्षण देखिने गरेको छ । गाउँ गाउँमा रहेका आँखा केन्द्रहरुमा पनि आँखा जचाउन आउनेको संख्या बढेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

हाल जिल्ला सदरमुकाम धादिङबेसी आसपासमा यो रोग बढी देखिएको छ । विद्यालयका बालबालिकामा समेत यो रोग फैलिइसकेकोले प्रकोपको रुप लिन सक्ने भएकोले सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् ।

खनियाबास, गजुरी, ज्वालामुखी, सल्यानटार लगायत पालिकाहरुमा आँखा केन्द्र संचालनमा छ । ती केन्द्रहरुमा पनि केही दिनयता आँखा पाक्ने विरामीको संख्या बढेको छ ।

कसरी बच्ने ?
चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।

आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउनु पर्छ । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा हाल्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ । घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।

आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्नुपर्छ । 

About The Author

अन्य समाचारहरु: