काठमाडौँ – मनसुनको सुरुवातसँगै डेंगीलगायत चिकेनगुनियाजस्ता लामखुट्टेबाट सर्ने रोग बढ्न थालेका छन् । मंगलबारसम्म नेपालका ४ हजारभन्दा बढी मानिसमा डेंगीको संक्रमण देखिँदा यो रोग ६९ जिल्लामा फैलिसकेको छ । डेंगी एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
एक वर्षको अन्तरालमा डेंगीको प्रकोप देखिने गरिए पनि नेपालमा केही वर्षयता बर्सेनि संक्रमण देखिँदै आएको छ । गत वर्ष ५४ हजार मानिसमा यसको संक्रमण हुँदा ८८ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१९ मा डेंगीको प्रकोप नेपालका ६८ वटा जिल्लामा देखिएको थियो । त्यसबेला १९ हजारमा संक्रमण भएको थियो ।
गर्मी क्षेत्र ट्रोपिकल एरियामा बढी हुने यो रोग केही वर्षयता नेपालका पहाडी जिल्लाहरूमा फैलन थालेका छन् । हिमाली जिल्ला सखुवासभामा यो वर्ष ६० भन्दा बढीमा डेंगी देखिएको छ ।
सन् २००४मा पहिलो पटक चितवनमा रेकर्ड भएको डेंगी सन् २००६मा तराईका ९ जिल्लामा फैलिइसकेको थियो । त्यसको तीन वर्षपछि काठमाडौंमा सन् २००९मा डेंगी सार्ने लामखुट्टे ‘एडिज एजिप्टी’ को पहिचान भएको थियो ।
त्यसको एक वर्षपछि काठमाडौंमा सन् २०१०मा पहिलो पटक डेंगीका बिरामी भेटिएको विगत छ । सन् २०१० मा ९ सय १७ जनामा डेंगी देखिँदा, २०१६ मा १५ सय २७ थियो । जबकि २०२२ मा ५० हजारभन्दा बढीलाई डेंगी संक्रमण भएको थियो ।
पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगी भेक्टर फैलावटमा प्रत्यक्ष असर पुर्याइरहेको नेपाली वैज्ञानिकहरूको एक अनुसन्धानले देखाएको छ । तराई क्षेत्रमा सापेक्षिक आद्रताको मात्राले डेंगी भेक्टर फैलावटमा असर पुग्ने सो अध्ययनको निष्कर्ष छ ।