काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न सोमबार दिउँसो संखुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी संखुवासभामा १ जनाको मृत्यु १८ जनाभन्दा बढी बेपत्ता भएका थिए ।
प्रधानमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्दारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए ।
प्रधानमन्त्री दाहालले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी संघसंस्थालाई अपिलसमेत गरे ।
प्रधानमन्त्रीले तत्कालै सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यकताअनुसार सरकारले तदारुकताका साथ काम गर्ने पनि बताए ।
‘म अस्ति मात्र मेलम्ची गएको थिएँ । त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो यहाँ पनि त्यसरी नै आकस्मिक रूपमा प्रकोप देखियो,’ उनले भने । प्रधानमन्त्री दाहाल सोमबार नै बाढीपहिरो प्रभावित ताप्लेजुङ र पाँचथरको अवलोकन गरी अपरान्ह काठमाडौं फर्कनेछन् ।