
विमान दुर्घटना परेर हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् ।
ती चार बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ । बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएर उनीहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको बीबीसीले जनाएकाे छ ।
तेह्र,नाै,चार र एक वर्षका ती बालबालिका सहाेदर भाइबिहिनी भएकाे बताइएकाे छ । काेलम्बियाका राष्ट्रपति गुस्टाभाे पेट्राेले उनीहरु जीवितै भेटिनुलाई जादुमय भएकाे बताएकाे बीबीसीले जनाएकाे छ ।
ती बालबालिका गत मे १ मा आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेका थिए । उनीहरु एमाजाेनस प्रदेशकाे एराराकुराबाट गुवाभेर गइरहेका थिए । यात्राकै क्रममा उनीहरु सवार सेसना २०६ नम्बरकाे हलुका विमान दुर्घटना हुँदा आमा र दुई जना पाइलटकाे ज्यान गएकाे थियाे । ती तीन जनाकाे शव जहाज दुर्घटना भएकै स्थानमा फेला परेकाे थियाे । तर चार जना बालबालिका भाैतारिँदै अनकन्टार जंगलमा गएकाे हुनसक्ने आशंकापछि काेलम्बियाई सेनाले खाेजी तीव्र पाररेकाे थियाे ।