धादिङ– धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७ चरौदीमा पोषण सुधार केन्द्र सञ्चालनमा आएको छ । कुपोषण अन्त्य गर्ने उदेश्यले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताए ।
‘चेपाङ समुदायको बाहुल्यता रहेको बेनीघाट रोराङ गाँउपालिकामा गरिवी, अशिक्षाका कारण कुपोषण विद्यमान नै रहेको छ । ५९ महिनासम्मका बालवलिकामा कुपोषण हुने गरेका छन् ।’ अध्यक्ष थपलियाले भने– ‘गरिवीका कारण आमाले पर्याप्त पोशिलो खानेकुरा नपाउदा बालबालिका कुपोषित भएका छन् । आमालाई र वच्चालाई पोषणयुक्त खाना खुवाएर सुपोषित बनाउने उद्देश्यले पोषण सुधार केन्द्र सञ्चालनमा ल्याइएको हो ।’
अहिले तत्कालको लागि पोषण सुधार केन्द्रमा १० जना क्षमता छ । तर आवश्यकताको आधारमा बढाउदै लैजानेछौ । यो वर्षमै २० जना क्षमताको बन्नेछ । उनले भने,– ‘पोषण सुधार केन्द्रमा अहिले आठ जना बालबालिका र उनका अभिभावकहरु छन् । यसरी गाँउमै पोषण सुधार केन्द्र सञ्चालन हुदाँ उपचारका लागि काठमाण्डौ लगायतका ठाउँ जान परेन । सहज हुनेसँगै खर्च र समयको पनि बचत हुने भएपछि स्थानीयहरु खुषी बनेका छन् ।’
बेनीघाट रोराङ गाउँपालिकामा ५ वर्ष मुनिका बालबालिका २ हजार ८ सय जना छन् । शिघ्र कुपोषण भएका वालवालिका ५३ जना रहेको बेनीघाट रोराङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख शंकरबावु ढुवाडीले बताए । मध्य कुपोषण भएका वालवालिकाको संख्या करिव सय जना छन् । उनले भने– ‘अहिले १० जना क्षमता भएपनि हामी प्राथमिकताको आधारमा राखेर उपचार गर्छाै कुपोषित सबै बालबालिकाले उपचार पाउँछन् ।’
‘अहिले यस गाँउपालिकामा पोषण सुधारमा शान्ति नेपाल, हिमालय हेल्थ केयर, सुआहारा, पोषण सुधार आयोजना र गाँउपालिकाले काम गरिरहेको छ ।
विगत १० वर्षलाई हेर्ने हो भने निकै सुधार भएको देखिन्छ । तर कुपोषित संख्या शून्य बनाउन सकिएको छैन ।’ उनले भने– ‘फागुनदेखि असारसम्म कुपोषणको संख्या बढ्छ । साउनबाट घट्दै गएर असोज तिर शुन्य हुन्छ । शून्य कायम गर्न स्वास्थ्य शाखाले मात्र काम गरेर हुदैन । यसका लागि त स्वास्थ्य, शिक्षा, महिला तथा वालवालिका, खानेपानी तथा सरसफाई, कृषि, पशुपंक्षी शाखाहरुको एकिकृत प्रयास हुन आवश्यक छ । साथै गैरसरकारी संघसंस्थाहरुको समेत सहभागितामा एकिकृत कार्यक्रम निर्माण गरी संयुक्त रुपमा कार्यान्वयन गरेर मात्र कुपोषण शून्य बनाउन सकिने स्वास्थ्य शाखा प्रमुख ढुवाडीले बताए ।
‘कुषोषण भएका वालवालिकालाई लिटो खुवाइरहेका छौं । जनसंख्याको ३८ प्रतिशत चेपाङ समुदायको संख्या छ । यस समुदायमा गरिवी, अशिक्षा, सचेतनामा कमीका कारण पनि बहुविवाह, वालविवाह गर्नेको संख्या धेरै छ । जन्मान्तरमा ध्यान नदिने र खाद्यान्न अभावका कारण कुपोषणको शिकार बनेका हुन् ।’ अहेव रविन थपलियाले भने– ‘वच्चाको पोषण सुधारका लागि तयारी पोषणयुक्त खाना खुवाउनुका साथै आमाहरुलाई नुहाइधुवाई, नङ काट्ने, घरआँगन सरसफाई गर्ने, करेसावारी, भान्साको सरसफाइ गर्न सिकाउने र पोषण शिक्षाको ज्ञान दिइ रहेका छौ । बालबालिका र बा आमा मध्ये एक जनालाई राखेर ६० दिन पोषण युक्त खाना पकाउने र खुवाउन सिकाएर पोषण अवस्था सुधान गर्नेछौं।’