
रमेश अधिकारी
गरीबी मानव सिर्जित अवस्था हो त्यसकारण यसको अन्त्य संभव छ । निश्चित जीवन स्तरका लागि वित्तिय स्रोत र अन्य आवश्यक चीजहरुको अभाव हुन्छ भने यो नै गरीबी हो ।
गरीबीका सामाजिक, आर्थिक, राजनीतिक कारणहरु हुन सक्छन्, यिनका फरक फरक कारण र प्रभाव छन् । पोषणयुक्त खानेकुराको कमी, न्यूनतम स्वास्थ्य सेवाको अभाव, द्वन्द्व र युध्द,अशिक्षा, कमजोर पूर्वाधार आदिलाई गरीबीका कारणहरु भनिएता पनि सबैभन्दा प्रमुख कारण भनेको असमानता नै हो । स्रोत र अवसरहरुको असमान वितरण नै गरीबीको मूल कारण हो ।
यो लिंङ्ख, जात, आर्थिक अवस्था, सामाजिक हैसियत र शारीरिक क्षमता आदि कारणबाट सिर्जित छ । लैगिक भेदभाव असमानताको ब्यापक रुप हो । असमानताले गरीबीलाई निरन्तरता दिन्छ । जब मानिसको अधिकारलाई उलंघन गरिन्छ, यसले आफैं निर्णय लिने र आफ्नो जीवन अवस्था सुधार गर्ने शक्ति खोस्दछ ।
ग्ल्म्ए को २०२१ को प्रतिवेदन अनुसार नेपालमा अझै १७.४ प्रतिशत मानिसहरु बहुआयामिक गरीब छन् । विश्व बैकले दैनिक २.१५ डलर भन्दा कम आय भएकाहरुलाई गरीब भनेको छ । यस हिसाबले हामी अझै चरम गरीबीको अवस्थामा गुज्रिरहेको देखाउँछ ।
गरीबीलाई हेर्ने धेरैवटा दृष्टिकोणहरु छन्, मौद्रिक आधार, सामथ्र्यको आधार, सामाजिक वहिष्करणको आधार, तर जे भनिए पनि सारमा गरीबी अन्यायपूर्ण शक्ति सम्बन्धको परिणाम नै हो । अन्यायपूर्ण शासन ब्यवस्था, भूमण्डलीकरण, नीजिकरण गरीबीका सहायक कारणहरु हुनसक्छन् ।
गरीब हुनु पूर्व जन्मको पाप होइन, यो त हाम्रा अधिकारहरु खोसिएका कारण सिर्जित परिणाम मात्र हो । यो न त दैवी हो न प्राकृतिक । यसको सिर्जना मानवीय कारण भएकोले यसको अन्त्य पनि मानवीय प्रयत्नबाटै संभव हुन्छ ।
गरीब स्वयंले आफ्नो गरीबीको अन्त्य गर्न सक्दैन किन कि यो ऊ आफैले मात्र सिर्जना गरेको परिस्थिति होइन । गरीबीको अन्त्य ब्यक्तिको अधिकारहरुको प्रत्याभूतिबाट संभव छ र यसको मुख्य जिम्मेवारी भनेको सरकार वा सत्ताको हो । राज्यको संघीय संरचना पछि शासन विकेन्द्रीकृत भै गाउँ गाउँमा सरकार आएको छ ।
सरकार सम्म पुग्न सक्ने नागरिकको पहुँच र समतामूलक समाज निर्माण गर्ने लक्ष सहितको सरकार भयो भने गरीब सधैं गरीब रहँदैन । सरकारले आफूलाई सेवक संझिने र सामन्तवादको अवशेषको रुपमा रहेको पितृसत्तात्मक सोंचको अन्त्य भयो भने गरीबहरु गरीबीको दुष्चक्रबाट मुक्त हुन सक्छन् ।
गरीबी अन्त्यका लागि प्रत्येक नागरिकको संविधानतः व्यवस्था गरिएका आधारभूत आवश्यकताको परिपूर्ति हुनुपर्छ । नागरिकलाई मागेर खाने होइन कमाएर खान सक्ने बनाउन उनीहरुको क्षमता विकास र सशक्तिकरणमा जोड दिनुपर्छ । अधिकार प्राप्तीको अभियानमा एक्लो प्रयास संभव छैन, संगठनमा बल हुन्छ, त्यसैले उनीहरुको सांगठनिक आवध्दताका लागि प्रोत्साहित गर्नुपर्छ । आमसचेतीकरणबाट जागरण पैदा हुन्छ, यसका लागि आम संचार क्षेत्रले पनि महत्वपूर्ण र जिम्मेवार भूमिका खेल्न सक्छ ।
समुदायमा सरकारको विकास अभियानलाई सघाउने थुप्रै सामुदायिक संस्थाहरु सकृय छन्, उनीहरुको कृयाशीलता र सहजीकरण समाज रुपान्तरणमा महत्वपूर्ण हुन्छ । कतिपय हाम्रा अवसरहरु समाजका हानीकारक मूल्य मान्यता र रुढीवादिताका कारण पनि खोसिएका छन् । तिनीहरुको अन्त्यका लागि सामाजिक जागरण आवश्यक छ ।
अधिकारको माग गर्नु विरोध गर्नु होइन बरु यो त नागरिकहरुको सचेतना र सभ्यताको परिचय हो भन्ने अनुभूत गरेर सरकारले सुशासनको आभाष दिन सकेको दिन हाम्रो गरीबीको अन्त्य हुन्छ । अतः गरीबीको अन्त्य संभव छ, सबैले हातेमालो गरेर समृध्द नेपाल सुखी नेपाली बनाउने अभिभारा पूरा गरौं ।