Sat. Mar 1st, 2025

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणको काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषदबाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।

भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले छिट्टै मन्त्रिपरिषदबाट निर्णय हुने बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेशनले रङ्शाला निर्माणका क्रममा रकम अभाव भएको भन्दै काम छोडेपछि झन्डै दुई वर्षदेखि रङ्गशाला अलपत्र अवस्थामा रहेको छ । फाउन्डेशनले विभिन्न व्यक्ति र संस्थालाई १८ करोड ४१ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको जनाएको छ । भुक्तानी रकम तिर्ने विषयमा समस्या भएकाले काम रोकिएको हो ।

मेयर दाहालका अनुसार भुक्तान दिनुपर्नेलाई सरकारी तवरबाट रकम निकासा गरी भुक्तानी गरेर नयाँ प्रक्रियाबाट रङ्गशालाको काम गर्न लागिएको हो । उहाँले भन्नुभयो, ‘रकम तिर्नुपर्ने नभएको भए पहिले नै काम हुन्थ्यो । तिर्नुपर्ने बाँकी रहेकै कारण काम अघि बढाउन ढिलाइ भएको हो ।’ खेलकुद मन्त्रालयले तत्कालीन सहरी विकास मन्त्रालयका सहसचिव प्रकीर्ण तुलाधरको संयोजकत्वमा खेलकुद मन्त्रालय र भरतपुर महानगरपालिकाको प्रतिनिधि रहेको समिति गठन गरी अध्ययनसमेत गराएको छ ।

यो समितिले प्राविधिक र आर्थिक प्रतिवेदन बुझाइसकेको छ । मेयर दाहालका अनुसार तिर्नुपर्ने भुक्तानी तिरेर सङ्घीय सरकारले बोलपत्र आह्वान गरी काम अघि बढाउँदैछ । यो रङ्गशाला यहाँ निर्माणका लागि पहलकदमी गर्ने तत्कालीन चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री हुनुहुन्छ ।

जिल्लामा रङ्गशाला स्थापनाकालदेखि नै उहाँको पहलकदमी रहेकाले यसलाई टुङ्गोमा पुर्‍याउन प्रधानमन्त्री प्रचण्डको चाहना रहेको छ । तिर्नुपर्ने भुक्तानीको टुङ्गो लागेसँगै सकेसम्म यसै आर्थिक वर्षदेखि बहुवर्षीय आयोजनाभित्र पारेर काम सुरु हुने मेयर दाहालको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: