
काठमाडौँ — बागलुङ, बुर्तिङबाङका ३३ वर्षीय रुद्रबहादुर पुन दक्षिणपूर्वी युरोपेली मुलुक रोमानिया, सर्बिया, क्रोएसिया हुँदै पोर्चुगल पुगेको पाँच महिना भयो ।
यसबीचमा कुनै रोजगारी पाउन नसकेका उनी एक जना चिनारुको डेरामा मासिक १ सय युरो भाडा कबुलेर बसिरहेका छन् । उनीसँग भाडा तिर्ने पैसा छैन । काम खोज्न कतै जानलाई हातमा पासपोर्ट पनि छैन । ‘राम्रो कम्पनीमा पासपोर्टबिना काम पाइँदैन । घरबाट पैसा मगाएर खानेबस्ने व्यवस्था गरिरहेको छु, तर कतिन्जेल मागीजुगी र ऋणकै भरमा यो परदेशमा बसिरहने रु’ उनले भने ।
पुनले सर्बियाबाट जंगलै–जंगल तीन दिन हिँडेर पोर्चुगल जाने क्रममा बाटैमा पासपोर्ट हराएका थिए । सर्बियामा काम नभएपछि उनी पोर्चुगल हिँडेका हुन् । पासपोर्ट बनाउन पोर्चुगलमा नेपाली दूतावास छैन, पोर्चुगल हेर्ने नेपाली दूतावास फ्रान्ससम्म पुग्न दुई देश पार गर्नुपर्छ । ‘पासपोर्टबिना फ्रान्स जाने कुरा भएन, यता काम खोज्यो, परिचयपत्र माग्छन्,’ पोर्चुगलको काब्लेसोमा बस्दै आएका पुनले भने ।
पासपोर्ट नहुँदा वा नबन्दा मानसिक–आर्थिक तनाव बेहोरिरहेका पुनजस्ता ५ हजारभन्दा बढी नेपाली पोर्चुगलमा छन् । उनीहरू कागजी हिसाबमा गैरकानुनी हुन् । नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विकका अनुसार पासपोर्ट हराएका, मिति सकिएका र सकिन लागेकालाई नाम दर्ता गराउन राजधानी लिज्बनस्थित नेपाली महावाणिज्य दूतावासको आह्वानमा ५ हजार ५ सयले नाम टिपाइसकेका छन् । ‘अरू धेरै कामदार दूतावासको सम्पर्कमै छैनन्,’ उनले भने ।