धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार मावि र रानीपौवा माविमा बालविवाह रोकथाम सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ ।
गाउँपालिकाको आयोजना र नाट्य संजाल धादिङको संयोजनमा चेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो । नाटकमा बालविवाह रोकथाम विषयक सडक नाटकमा समुदायमा हुने गरेको बालविवाहपछि आइपर्ने संभावित खतराहरुलाई उजागर गरिएको छ ।
कलाकारहरुले बाल उमेरमै विवाह गरेर गर्भवती भएपछिको पीडा सडक नाटक मार्फत दर्साएका थिए । नाटकले गाउँघरमा हुने गरेको बाल विवाह रोकथाममा सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष देवराज धरेलले बताए । नाटक प्रदर्शनी हेर्न वडा अध्यक्षहरु, गाउँपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारी र स्थानीयहरु सहभागी थिए ।