
काठमाडौं- आईसीसी यू–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा आज हङकङविरुद्ध मैदानमा उत्रँदा नेपाल लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । यूएईको अज्मानमा यो खेल नेपाली समयानुसार बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।
आज यही समयमा यूएईमै नेपाली सिनियर क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दै छ ।
नेपाली युवा टिमले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएकोे थियो । दोस्रो खेलमा कुवेतमाथि २४३ रनको फराकिलो जित निकालेको थियो ।
कुवेतविरुद्ध नेपालका अर्जुन कुमाल र कप्तान देव खनालले शतक बनाएका थिए । बलिङमा आकाश चन्दले ६ विकेट लिएका थिए । हङकङविरुद्ध पनि नेपाल सोही लय कायम राख्न चाहन्छ ।
दुई खेलबाट चार अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) समान खेलबाट समान अंकसहित शीर्ष स्थानमा छ ।