काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको दुईमहिने सत्ता सहकार्य लगभग टुंगिएको छ ।
राष्ट्रपतिमा माओवादीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने निर्णय गरेसँगै यी दुई नेताको सत्ता सहकार्यमा विराम लागेको हो । यससँगै कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको ढोका खुलेको छ ।
एमाले, रास्वपा, राप्रपा, जनमत र उन्मुक्तिको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका दाहाललाई सुरुमै यो गठबन्धन लामो जाँदैन भन्ने अड्कल भइसकेको थियो । त्यसैकारण उनी पुस २६ मा संसद्बाट विश्वासको मत लिने बेलासम्म कांग्रेस सभापति देउवा र अरू नेतासँग संवादमा थिए । कांग्रेससित सहकार्य गर्नुको एउटै कारण थियो– आफ्नो अडान नछाड्ने ओलीको कार्यशैली ।
नयाँ समीकरण बनेपछि पहिलो पटक शनिबार सार्वजनिक कार्यक्रममा बोल्दै दाहालले दुई महिनामा आफूले भोगेको अप्ठ्यारो लुकाउन सकेनन् ।
‘मैले दुई महिनाभित्र त्यो तीतो अनुभव र अनुभूति गरें, सबै लोकतान्त्रिक शक्तिहरू र हिजो ऐतिहासिक रूपमा भूमिका खेलेकाहरू मिल्नुपर्छ,’ उनले भने, ‘बेलाबेला उतारचढाव भए पनि हामी ठीक ठाउँमा आइनै हाल्छौं । त्यसकारण हिजो निकै खुसी र गर्व महसुस गरें ।’