
काठमाडौँ – साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बंगलादेशमा भएको प्रतियोगिता खेलेर नेपाली टोली शुक्रबार दिउँसो स्वदेश फर्किएको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बिहीबार भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
फाइनलमा पराजित भएसँगै नेपाल उपविजेता बन्यो भने बंगलादेश प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको थियो । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोली नेपाल र बंगलादेशले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।