काठमाडौँ- प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न र नगराउन सञ्चार माध्यमहरुलाई ध्यानाकर्षण गराएको छ । काउन्सिलले जनस्वास्थ्य प्रतिकूल हुने खालका सामग्रीको प्रचार रोक्न विज्ञप्तिमार्फत सञ्चार माध्यमलाई जानकारी गराएको हो ।
सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलले सञ्चार माध्यमहरुलाई सचेत गराएको विज्ञप्तीमा जनाइएको छ ।
‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थलगायतक मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ ।’
ऐन विपरीत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यसकिसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्नरनगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चार माध्यमबाट पर्याप्त आधार–कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिइ एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासाहरू आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ ।