
धादिङ– धादिङबेसीमा तीन महिने फुटबल प्रशिक्षण सुरु भएको छ । युवापुस्तालाई खेलप्रति आकर्षित गराउन नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङ फुटबल क्लबले प्रशिक्षणको आयोजना गरेको हो ।
तीन महिनासम्म चल्ने प्रशिक्षणको बुधबार औपचारिक सुरुवात गरिएको छ। प्रशिक्षण २०८० बैशाख २५ गतेसम्म सञ्चालन हुने धादिङ फुुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिए । प्रशिक्षणमा जिल्लाभरबाट ५० जना फुटबल खेल्न इच्छुक व्यक्तिहरु सहभागी छन् । प्रशिक्षक रवि भण्डारीले प्रशिक्षण गराउनेछन् ।
धादिङबाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको भण्डारीले बताए ।