काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संघीय संसदमा विश्वासको मत लिने भएका छन् ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।
बैठकमै कांग्रेस
संसदीय दलको बैठकअघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बैठक अहिले सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल भइरहेको नेता नारायण खड्काले बताए ।
विश्वासको मतका सम्बन्धमा निर्णय गर्न भने आजै संसदीय दलको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक बस्दैछ ।
२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तीमा १३८ सांसदको समर्थन चाहिन्छ ।