भीमदत्तनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय सम्पर्क कार्यालय भीमदत्तनगरको एक टोलीले आइतबार यातायातका कार्यालय सहयोगीलाई ३८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय भीमदत्तनगरका कार्यालय सहयोगी भीमराज भट्ट नगदसहित कार्यालयबाट पक्राउ परेका हुन् ।
अख्तियारका क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले विशेष सूचनाका आधारमा सेवाग्राहीबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए ।
सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएकालाई पास गरिदिने भन्दै रकम लिएको बताइएको छ । रासस