धादिङ– धादिङ जिल्लालाई उद्योग र व्यवसायको उर्वर क्षेत्र बनाउन प्रदेश सरकार प्रतिवद्द रहेको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।
बिहिवार आठौं धादिङ महोत्सव उद्घाटन गर्दै पाण्डेले धादिङमा उद्योगधन्दालाई प्रवर्द्धन गर्न प्रदेश सरकारले उद्योगग्राम स्थापना गर्दै व्यवसायिक प्रवर्द्धनलाई जोड दिएको स्पष्ट पारे । कृषि र पर्यटन क्षेत्रलाई समेत सम्बोधन गर्दै पाण्डेले कृषि व्यवसायको प्रवर्द्धन गर्न कृषि बजार स्थापना गरेको र पर्यटन प्रवर्द्धन गर्न पनि सांस्कृतिक तथा धार्मिक महत्व राख्ने पुरातात्त्विक संरचनाको विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए ।
नवनिर्वाचित संघिय सांसद एवं वागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले देशकै गौरवको बुढिगण्डकी आयोजनाको कामलाई द्रुत गतिमा अघि बढाउने जिकिर गरे । ‘धादिङ जिल्लामा पर्ने दुइ ठूला पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ व्यवस्थित गर्ने काम भैरहेको छ’, उनले भने-‘वैकल्पिक मार्ग धार्के सितापाइला एक वर्ष भित्रमा पिच हुन्छ ।’
महोत्सवमा घोडचढी देखि चेपाङको झाँकीसम्म
विहिबार देखि शुरु भएको धादिङ महोत्सवमा विभिन्न जातजातिले आफ्नो संस्कृति झल्किने नाँच तथा झाँकी प्रदर्शन गरेका छन् ।
उत्तरी क्षेत्रमा पर्ने रुवीभ्यालीका तामाङ जातिले घोडचढी नाच, दक्षिणी धादिङका चेपाङ जातिले झाँकी, नेवार समुदायले लाखे तथा टाकटुके नाँच, कुमाल समुदायले कौरा नाँच, पञ्चे बाजा लगायत धादिङको पहिचान बोकेका संकृति झल्किने खालका प्रदर्शन गरिएको थियो । विहिबार देखि शुरु भएको आठौ धादिङ महोत्सव पौष १७ गते सम्म सञ्चालन हुनेछ ।