काठमाडौ – बागमती प्रदेशसभाको पहिलो बैठक आह्वान गर्न प्रदेश सरकारले तयारी गरिरहेको छ । सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आगामी पुस १८ मा आह्वान गर्ने गरी तयारी भइरहेको हो ।
पुस २ गते निर्वाचन आयोगले प्रदेशसभा सदस्यको नामावली प्रदेश प्रमुखलाई हस्तान्तरण गरेसँगै प्रदेशसभाको प्रक्रियागत कामको बाटो खुलेको थियो । संवैधानिक व्यवस्था अनुसार नै सबै प्रक्रिया पूरा गरी प्रदेशसभाको पहिलो बैठक आह्वानका लागि सरकारले तयारी गरिरहेको उनले बताए ।
पुस ८ गते हुने सर्वदलीय बैठकमा सरकारको तर्फबाट उक्त विषयलाई प्रस्तावको रुपमा पेस गर्ने र निर्णय गराउने उनको भनाइ छ । प्रदेशसभा बैठक बस्नु अगावै सांसदहरुको शपथ ग्रहणको काम सम्पन्न गर्नु पर्ने भएकाले प्रदेशसभा सचिवालयलाई पनि सोही अनुसार पत्राचार गरिएको उनले जानकारी दिए ।
‘पुस १८ मा प्रदेशसभाको पहिलो बैठक आह्वान गर्ने सरकारको तयारी छ । त्यस विषयलाई सरकारको तर्फबाट सर्वदलीय बैठकमा प्रस्तावको रुपमा पेस गरेर अन्तिम रुप दिइनेछ,’ मन्त्री खनालले रातोपाटीसमक्ष भने, ‘सदन बस्नु पूर्व नै सांसदहरुको शपथ ग्रहण भइसक्नुपर्ने भएकाले सोही अनुसार प्रदेशसभा सचिवालयमा पत्राचार भएको छ ।’